धुलावारीमा जेष्ठ महिनाको पहिलो सातातिर विहानीपख ठूलो हूरीबतास र गड्याँङ्ग गुडुँङ्ग सहितको मूसलधारे पानी पर्यो। धेरैपटक हाम्रै घरनजिकै परेकोजस्तो सुनिने गरी चट्याँङ्ग पर्यो। घरमा भएका हामी सवैजना थर्कमान हुँदै झ्यालढोका वन्द गरेर कान थुनेर वस्यौं।
विहानको चिया पिउँदैगर्दा आमाले वि.सं. २०२५ सालमा परेको भिषणवर्षा र त्यसवेला बाढीले गरेको वितण्डाको कुरा निकाल्नुभयो - घरखेत डुवानमा परेका, कति घरहरू बगेका, गाईभैंसी वाढीमा बगेर मरेका, मानिसहरूको भागभाग! आमालाई आज पनि त्यस्तै हुने हो कि भन्ने परेको रहेछ। अझ चट्याँङ्ग पर्दाको थर्कमान त झनै डरलाग्दो!
अनि हामीतिर फर्केर आमाले सोध्नुभयो, 'आज विहानको यहाँ आएकोजस्तो हावाहूरी, आँधीबेहरी र चट्याँग नेपालभरि पर्यो होला कि? अनि संसारका अरूदेशमा पनि यस्तै हावाहूरी, आँधीबेहरी आउँछ र चट्याँग पर्छ?' कृतिम वुद्धिको सहयोगमा बुझ्दा मैले नेपालमा वि.सं. २०६७ बैशाख देखि २०७७ चैत्र सम्म चट्याङबाट वर्षेनी औसत १०३ जनाको ज्यान गएको र २७३ जना घाइते भएका तथ्यांक भएको र हाम्रा जुनु, मोनिषहरू वस्ने अस्ट्रेलियामापनि यस्तै र अझ ठूला आँधिबेरी आउँछन्, वरिपरि समुन्द्रले घेरिएको विशाल देशमा कहिले कता कहिले कता समुन्द्री आँधिबेरी सहित भारीबर्षा र बाढी आउँछन्, धनजनको क्षती पुर्याउँछन् भनी सुनाएँ। त्यस्तै अस्ट्रेलियामा हरेक वर्ष चट्याङ लागेर पाँचदेखि दश जनाको मृत्यु हुने र सयभन्दा बढी घाइते हुन्छन् भनी बताएँ।
मेरी ८८ वर्षिया आमालाई यस्ता तथ्यांकले के फरक पर्छ र? मेरा कुरा सुनिसकेपछि भन्नुभयो, 'हाम्रै जस्तै ठाउँ त रहेछ अस्ट्रेलिया पनि, आज विहानको आँधिबेहरी र चट्यांङ्गले कतै केहि पो भयो कि!' त्यतिबेलै मेरो फोन वज्यो, ब्रिसवेनबाट जुनुको मेसेञ्जर कल रहेछ। नातिनीको कलभन्दा आमाले म बोल्छु नातिनीसंग भन्नुभयो। आमाको पहिलो सोधाई थियो, 'आज विहानको आँधिहूरी र चट्याँङ्गले त्यहाँकेहि त भएन? ज्वाईसाहव लगायत तिमीहरू र पनाती पनातिनीहरूको के छ खवर?' उताबाट सवैजना ठीकठाक रहेको र त्यसदिन विहान उनीहरू वसेको ठाउँमा आँधिबेहरी र चट्याँङ्ग केहि नआएको भन्दै अस्ट्रेलियाको अर्को सहर केनवेरामा भएको भाई मोनिषलाई पनि मेसेञ्जर कलमा जोडाई, नाती मोनिषलाई पनि आमाले आँधिबेहरी र चट्याँङ्ग कै कुरा सोध्नुभयो, नातिनी बुहारी रुषालीको हालखवर सोधिखोजी गर्नुभयो, सवैलाई ठीकठाक छ भनेपछि अलिक ढुक्क जस्तो मान्नुभयो र भन्नुभयो, 'तिमीहरू टाडा छौ, आफ्नो राम्रो ख्याल राख्नु, मलाई त यहाँ आँधिबेहरी, बर्षात र बाढी आउँदा, चट्याँङ्ग पर्दा मन चसक्क हुन्छ'। त्यसपछि आमालाई सुनाउने गरी हाम्रो जन्मथलो धाईजन, बिर्तामोढ, दुधे-झिलझिले, काठमाण्डौं सवैतिर रहेका हाम्रा परिवारको वारेमा फोनबाट हालखवर सोधपुछ गरियो र आमाले सवैलाई आफ्नो ख्याल गर्न भन्नुभयो।
हाम्री आमा डिकुरादेवी आफु ८८ वर्षको हुनुहुन्छ, स्वास्थ्य सामान्य भएपनि उमेरगत हिसावमा अब अलिक बढि हेरचाह, स्याहार र रेखदेख चाहिने अवस्था भएकोछ। यस्तो अवस्थामा पनि आमाले आफुभन्दा बढि ९० वर्षिय हाम्रो बुवा भिमप्रसाद दाहालको ख्याल राख्ने र सक्दो सेवा-सुसार गर्नुहुन्छ। दुःखको कुरा पाँचवर्षअघि अल्पायू मै स्वर्गवास भएकी कान्छी छोरी शान्तिदेवीको यादले आमालाई हामी सवैभन्दा बढि नै सताएको छ। आफ्ना सन्तान विछोडको पिडा आमाकोलागि कति असह्य हुन्छ भनी कल्पना पनि गर्नसकिन्न।
आमाको ममताले त होला, आँखा अलिक धमिला भएपनि हाम्री आमा बाटामा हिड्ने हरेक मानिसहरूमा आफ्नै सन्तानका प्रतिरूप देख्नुहुन्छ। बार्दलीमा बसेर घरअगाडिको बाटोमा हिड्नेहरू कसैलाई छोरोजस्तो लाग्यो भन्नुहुन्छ, महिलाहरू कसैलाई छोरीजस्तो कसैलाई बुहारीजस्तो देखें भन्नुहुन्छ, धेरै स्कूल कलेजजाने उमेरका केटाकेटी र अलिक ठूला युवायुवतीहरूमा आफ्नै टाडा रहेका नाती नातिना, पनाती र पनातिनीहरूको प्रतिरूप देख्नुहुन्छ। साना बच्चाहरूसंग भेट्दा पोल्टाबाट निकालेर स-साना चकलेट बाँड्नुहुन्छ। हाम्री आमा हामी सवै सन्तानको बढी नै पीर गर्नुहुन्छ। सानातिना कुरामा घरबाट टाडा रहेका छोराछोरी ज्वाईचेला, बुहारीहरू, नातीनातिनीहरू लगायत आफ्ना सन्ततिहरूको खोजी गर्नुहुन्छ। खाए नखाएको सोधखोज गर्नुहुन्छ। दुःखाई पिराई सुन्दा पीर लिनुहुन्छ। एकछिन नदेख्दा कता गए भनी खोज्नुहुन्छ। केहिदिन सम्पर्क, फोनवार्ता, भेटभएन भने फलानोको नियास्रो लाग्यो भन्नुहुन्छ। अनि फोन सम्पर्क हुँदा कहिले आउने भनी सोध्नुहुन्छ।
मलाई लाग्छ, आफ्ना सवै सन्तानहरू साथ नहुँदा सवै आमाहरूलाई यस्तै यस्तै हुँदो हो! यहि नै रहेछ आमाको माया!
(द्रष्टव्य: यहाँ प्रयोग भएका संख्यात्मक तथ्यांकहरू गुगल गरेर लिईएका हुन्)
कोटेश्वर, काठमाण्डौं
#तेजराज दाहाल

0 Comments