हिजोअस्ति भर्खरै राई माइलाले गाउँ छाड्यो रे भन्ने कुराले जति त पहिले पहिले भण्डारी काइँला, दाहाल अन्तरे र बस्नेत कान्छाहरूले गाउँ अनि देशै छोड्दासमेत हल्लीखल्ली भएको थिएन । हाम्रा बुवा–आमाले पनि हामीले धेरै नै अघि छोडेको प्यूरेगाउँ भरखरै राई माइलाले पनि छोडेको सुन्नुभएछ र मलाई किन के भएर उसले गाउँ छोडेछ भनी सोध्नुभयो। यसबारे मलाई पनि सबै कुरा थाह नभएको तर राई माइलाले गाउँ छोडेको कुरा चैँ पल्लो गाउँ शान्तिनगरका सुनिता, कालीप्रसाद र उनीहरूका साथीहरूले गीत नै बनाएर रेडियो, एफ एम र टिभीमा फुक्दै हिँडेपछि सुनेको बताए । हल्लीखल्ली निकै भएको र हाम्रा नब्बे वर्ष हाराहारीका बुवाआमाले समेत चासो राखेर सोधेपछि सबै कुरा बुझेर भन्छु भनी म पनि हाम्रो पुरानो थलो र राई माइलाले केही समयअघि छोडेको प्युँरेगाउँतिर लागेँ ।
धुलाबारीदेखि शान्तिनगरको गौंडासम्म सार्वजनिक बसमा गएर जोरसाँघु तरेर उकालो चड्दै गर्दा प्युँरेगाउँमा बुझ्दा दुई छोरी र एक छोराको बावु राई माइला आफ्नी ८० बर्से आमा र श्रीमतीसहित दुई छोरी र एक नातिनीसाथ लिएर गाउँ नै छाडेर गएको रहेछ । कता गएको भन्ने चैं कसैलाई थाहरहेनछ । एक महिनाजति अगाडि कसैलाई जानकारी नै नदिई झिसमिसेमैं गौंडाबाट गडीचौर, टिमाई, खुट्टीडाँगी, धुलाबारीबाट बिर्तामोड हुँदै भद्रपुर र झापाको तल्लोभाग बनियानी (बगान) सम्मको रूटमा चल्ने बाँसुरी यातायातको बस चढेर राई माइलाको परिवारले प्युँरेगाउँ सँधैका लागि छोडेको रहेछ । मैले राई माइलाको घर नजिकैका छिमेकी कार्की कान्छा, तामाङ्ग ठूल्दाइ र सङ्ग्रौला साइलादाइहरूलाई भेटेँ । वहाँहरूले पनि राई माइला बसाइँ हिंडेपछि गाउँ नै शून्यजस्तो भएको बताउनुभयो । अब गाउँमा मर्दापर्दा, सामाजिक कार्यहरू र मेलापातका लागि अघि सरेर लागी पर्ने सबै छरछिमेकी र गाउँलेका लागि उत्तिकै प्यारो भू पू भारतीय लाहुरे राई माइलाको अभाव सँधैका लागि खड्किने भएछ । उमेरले करिब पचपन्नको हाराहारी मात्र पुग्नलागेको राई माइला भारतीय सेनामा अठार वर्ष काम गरेर अवकाश प्राप्त लाहुरे भएकोले गाउँघर र छिमेकी गाउँमासमेत धेरैले यभू पू माइला भनेर पनि चिन्दथे । तीन तीन महिनामा धरानको गोर्खा पेन्सन क्याम्प गएर बहत्तर हजार नेपाली रूपैयाँ पेन्सन थाप्ने राई माइला सिजनअनुसार आफू चटक्क परेर सफा लुगा, क्रस खुकुरीसहितको ढाकाटोपी, काँधमा तेर्छे झोला र झोलाभित्र दापसहितको सानो खुकुरी बोकेर हिँड्थ्यो। कहिलेकाहीँ आर्मी कलरको कार्गो पाइन्ट, टी–सर्ट र ह्याट लगाएर साँच्चैको भू पू लाहुरेजस्तो देखिने राई माइला छिमेकीहरूले बताएअनुसार मेहनती, इमान्दार, सहयोगी र सबैको हितैषी थियो । तर, खै के कस्तो भाग्य र दिनदशाले हो भू पू माइलाको पारिवारिक, घरायसी र आर्थिक अवस्थाभने गएको चारपाँच वर्ष यता धेरै खच्किँदै गएको रहेछ । राई माइलाका बाबुले जोडेको अठार रोपनी पाखोबारी र प्यूँरेगाउँका खतिवडा श्रीधर बाजेको मोहियानी कमाएको टिमाईबेँसीको एकबिघा जग्गा मोही लगतकट्टा गर्दा पाएको दशकठ्ठा खेत राई माइलाको परिवारको सम्पत्ति थियो । दशवर्षअघि लाहुरबाट फर्किंदा ल्याएको केही नगद रकमले राई माइलाले एउटा राम्रो जातको भैंसी किन्यो, गाउँमा बसेर ब्रोइलर कुखुरा पाल्न खोर बनाउनेदेखि प्राविधिक तयारीमा निकै खर्च गर्यो। जेठी छोरी निताको विवाह पहरीगाउँको आफ्नै जातको साथी भू पू लाहुरेको छोरासँग धुमधामसँग गरिदियो, कान्छी छोरी भालुझोडाको लेप्चा केटासँग आफूखुसी भागेर गएपछि उनीहरूलाई पनि घरमा बोलाएर समाज राखेर जाँडरक्सी र सुँगुरको मासुको भोज खुवाएर धुमधामसँग वैवाहिक सम्बन्धलाई मान्यता दिने काम गरायो । यतिकैमा उसको बुवालाई लामो समय खोकी लाग्यो, ज्वरो पनि लाग–छाड भइरह्यो । गाउँको स्वास्थ्य चौकीमा जाँच गर्दा टिबी देखियो । धेरैसमय उपचार गर्दा पनि पूर्णरूपमा बिसेक नभएपछि भद्रपुर अस्पतालमा रगत र छातीको जाँच गर्दा राई माइलाका बाबुलाई फोक्सोको क्यान्सर अन्तिम अवस्थाको भएको भन्नेपत्ता लाग्यो । चिकित्सकहरूकै सल्लाहमा बिरामी बाबुलाई घरै फर्काएर घरेलु ओैखतीहरूको भरमा दुई महिनाजति बाँचेर राई माइलाका बावुको मृत्यु भयो । राई मुन्धुमअनुसार विधिविधान पुर्याएर बावुको लागि आफ्नै बारीको पल्लोछेउमा चिहान बनाएर त्यसमाथि मान्द्रोको छानो भएको टहरो बनाई दैनिक बत्ती र फूल चढाउने ठाउँ बनाएर राख्यो । धेरै समयदेखि वृद्ध र रोगी आमाबावुको सेवा सुश्रुषामा समय दिनुपरेकोले आफूले घरभित्र, खेतीपाती र भैँसी अनि कुखुराहरूको रेखदेख राम्रोसँग गर्न पाएन राई माईलाले । उसकी श्रीमती पानसराको पनि ढाडको नशा च्यापिएको सातवर्ष भइसकेको थियो र उनले घरबाहिरको काममा केही गर्न नसक्ने अवस्था परिवारले वर्षौंदेखि भोगिरहेको थियो । छ्यत्तर वर्ष कि वृद्ध आमालाई दम र खोकीको समस्या भएको धेरै वर्ष भइसकेको थियो । नियमित ओैषधि ख्वाइरहनुपरेको थियो। एसइई राम्रैसँग उत्तीर्ण भएको भए पनि राई माइलाको छोराले बाह्र कक्षा उत्तीर्ण गर्न सकेन, फुटबल खेलमा अलिक रुचि भएको ऊ साथीहरूसँग यताउता हिँडिरहने, घरको काम नसघाउने र बिहान बेलुकी खानेबेलामात्र घरमा आउँथ्यो । आफूलेमात्र सबैतिरको राम्रो हेरचाह पुर्याउन नसक्ने भएपछि राई माइलाले भैंसी बेच्यो, कुखुरापालन बन्द गर्यो। त्यही बेला राई माइलाको छोरा नितेशले वैदेशिक रोजगारीमा रोमानिया जान सातलाख रूपैयाँ चाहियो भनेर दिनैपिच्छे करकर गर्यो। विर्तामोडको एक मेनपावर कम्पनीले चार महिनापछि भिसा आउने तर कागजपत्र र पूरै पैसा चैं अहिले नै दिनुपर्ने भनेको रहेछ । आफ्नो गाउँको र देशको गरिबीको अवस्था र युवाहरू बेरोजगार भएर विभिन्न कुलतमा लागेका र बिग्रेका देखेको राई माइलाले पनि छोरालाई यतै रोक्ने उपाय देखेन, आफूसँग भएको दुईलाख नगद र बाबुकै पालादेखि चलाईआएको साहु कुलबहादुरकोमा आफ्नो पेन्सनपट्टा र टिमाईबेँसीको दशकठ्ठा खेतको सक्कल धनीपुर्जा धितो राखेर पाँचलाख रूपैयाँ एकवर्षमा फर्काउने भाका गरी कर्जा लिएर छोरालाई दियो । राई माइलाले पैसा दिने बेलामा छोरालाई सम्झायो, नितेश तँ सोझो छस्, अहिले संसारभरि नै छट्टुहरूको बिगबिगी छ, पैसा त डुबाउँदैनस् होला नि? गाउँका अरू पनि साथीहरू सँंगै जाने र पठाउने मेनपावरको एकजना साहु सुनमाईको चिनजानकै मान्छे भएको र त्यस्तो फटाइ नहुने विश्वास लागेको छोराले बतायो । तर दुर्भाग्य नै भन्नुपर्छ, राई माइलाको छोरा लगायत पन्ध्रसोह्रजना युवायुवतीको पैसा र कागजपत्र जम्मा गरिसकेपछि उक्त मेनपावरको बिर्तामोडको अफिसमा ताला लगाएर सञ्चालकहरू फोनसमेत बन्दगरेर फरार भएछन् राई माइलाको छोरा र उसका साथीहरू अहिले केही सुराक लागिहाल्छ कि भनेर काठमाडौं गएका छन् ।
अब छोरो विेदेश जान र त्यहाँ गएर पैसा कमाएर पठाउने नभएपछि वार्षिक चौबिस प्रतिशतको व्याजदरमा काढेको साहुको ऋण कसरी र केले तिर्ने राई माइलालाई अत्यास लाग्न थालेको कुरा छरछिमेकीमा उसले भन्ने गथ्र्याे रे । अझ चिन्ता र दिग्दारीको कुरा त त्यही समयमा राई माइलाका दुवै छोरीहरूको घर–परिवार बिग्रियो, जेठीको केटा कामको सिलसिलामा धरान बस्दै गर्दा उतै अर्को घरजम गरेछ । यता सासू ससुराले जेठी बुहारीलाई दुव्र्यवहार गरेर पहरीगाउँको घरमा बस्न नदिएपछि विगत छमहिनादेखि छोरी र चारवर्ष कि नातिनी माइतमा नै राई माइलासँगै बस्दै थिए । उता कान्छीछोरीको ज्वाइँ दमकबाट रबि हुँदै यासोक रूटमा चल्ने यात्रु बोक्ने बोलेरो जीप चलाउने गर्थे । एक वर्षअघि पञ्चमी (चिसापानी) बजारनजिकै जीपसहित सडकबाट साठीसत्तरी मिटरजति तलखसेर दुर्घटनामा परी अरू चारजना यात्रीसहित ठाँउको ठाँउ मृत्यु भएपछि कान्छी छोरी पनि माइतमा नै बस्दै आएकी थिई । कान्छीका बालबच्चा भएका थिएनन् । यी सबै विषयले राई माइलालाई भित्रभित्रै जलाउन थालेको उसको अनुहारमा प्रष्टै देखिन्थ्यो । राई माइला पछिल्लोसमय आफ्नै घरको आँगनको डीलमा रहेको बाँसको फप्ल्याँटाले आफैँ बनाएको बेन्चमा बसेर चुरोट तान्दै टोल्हाएर पारी इरौंटार र शान्तिनगरका गाउँहरू, टारीखेत र बारी अनि डाँडाकाँडा हेरिबस्थ्यो । दुई वर्षअघि असौज महिनामा परेको मुसलधारे पानी र त्यसपछिको बाढीपहिरोको चपेटामा परी राई माइलाको घरबारीको अठार रोपनीमध्ये करिब छ सात रोपनी बारी बगेको थियो । त्यहाँ भएका डालेघाँस र फलफूलका बोटबिरूवा सबै पहिरोले लग्यो । अझ दुःखको कुरा त बारीको त्यो भागमा भएको राई माइलाको बावुको चिहान र बारीको छेउमा भएको यौटा समीको रूखमुनि राई माइलाका बुवाकै पालादेखि थपना गरेको एउटा अनौठो आकार र अरू सामान्यभन्दा फरक रङको शिलालाई देवीदेवता र पितृहरूको रूपमा विभिन्न चाडपर्व र विशेषगरी उँधौलीउँभौली पर्वका दिन राई माइलाको परिवारले पुज्ने गरेको थान र त्यहाँ भएका सम्पूर्ण सामग्रीहरू बगेका थिए । पहिरो थामिएपछि राई माइलाले कतै ती थानका शिलाहरू वा सामग्रीहरू भेटिन्छन् कि भनेर खोजिहेर्यो तर भेट्नसकेन । ती शिलालाई राई माइलाका बुवा शेरधनले श्रीमती विवाह गरेर ल्याएकै साल तोरीबारीबाट (मधुमल्ला) ढुकुरपानी, चुलाचुली, महमाई, दानाबारी, खुदुनाबारी, होक्से हुँदै सुनमाईको बाटो भएर प्यूरेको घरसम्म ल्याएर थपना गरेकाथिए । पहिला पहिला राई माइला कि आमालाई उँधौलीउँभौली पर्वहरूको बेला शरीरमा देवता आउने गथ्र्यो । उनलाई बुवा हर्कधनको शेखपछि कुलले पछ्याएको भन्ने गर्दथे । आफ्नाघरपट्टिको कुलथानसहित ससुरालीतिरको कुलको थान पनि आफ्नी श्रीमतीका लागि राई माइलाका बुवाले सँगै ल्याउनु परेको थियो । राई माइलाका बुवा मरेपछि त्यो थानमा दैनिक धुपबत्ती गर्न छुटेको थियो, आमालाई पनि शरीरमा देवता आउन छोडेको थियो । त्यसैले पहिरोमा परी नष्ट भएको देवीस्थानको खोजी बिस्तारै कम भएर गएको थियो त्यही पहिरोमा बगेको बारी हुँदै घरमा ल्याएको खानेपानीको मूल र पाइपलाइन पनि नष्ट भएको थियो, त्यसपछि राई माइलाको घरमा छिमेकी कार्की कान्छाको घरबाट पानी बोकेर काम चलाइरहेका थिए । यतिका दुःखमाथि दुःख, पिरमाथि पिर तर पनि गाउँछिमेकमा राई माइलाको सहयोगीपन र सबैका लागि सहजै उपलब्धहुने स्वभाव र व्यवहारमा कुनै कमी आएको थिएन । तामाङ ठुल्दाइ र सङ्ग्रौला साइलादाइबाट राई माइलाले जीवनमा भोग्नुपरेका एकपछि अर्को पीडा र सकश सुन्दा मेरा पनि आँखा रसाए ।
त्यही बेला तल्ला गाउँका प्राथमिक विद्यालयका शिक्षक चन्द्रकान्त पनि हामी भएका ठाउँमा आइपुगे । फेरि पनि कुरो राई माइला कै चल्यो, चन्द्रकान्तले भनेअनुसार राई माइलाले लाहूरबाट फर्केकै साल विद्यालयमा एकलाख रूपैयाँको अक्षयकोष राखेर वार्षिक परीक्षामा अब्बल नतिजा ल्याउने दुईजना केटा र दुईजना केटीलाई जनही पन्ध्र सय रूपैयाँको पुरस्कार दिने व्यवस्था गरेको रहेछ । विगतमा दुई कार्यकाल विद्यालय व्यवस्थापन समितिमा रहेका बेला राई माइलाले विद्यालय भवनबिस्तार र अरू भौतिक संरचनाहरूको थप व्यवस्था गर्न गराउन उल्लेख्य भूमिका खेलेको कुरा पनि चन्द्रकान्तबाट थाहभयो । राई माइलाले गाउँ छोड्दा स्थानीय विद्यालयले एक असल अभिभावक र संरक्षक गुमाएको रहेछ । कार्की कान्छाले राई माइलाको रसिक स्वभाव पनि सम्झे । कहिलेकाहीँ साथीभाइसँग बसेर रक्सी पिउँदा राई माइला एकदुई पेग पिएपछि आफ्नी श्रीमती पानसरासँग कसरी तोरीबारी (मधुमल्ला) मावली गएको बेला मधुमल्ला बजारमा भेटभयो । कसरी मायापिर्ती बस्यो । अनि केटी माग्न भनेर मामाहरू लिएर केटीको घर जाँदा केटो कालो र डल्ले रहेछ भन्दै केटीका माइतीले दिन राजी नभएपछि बजारको दिन पारेर केटी भगाएको र इलाम दानाबारीको शुक्रवारेमा काकाको घरमा पन्द्रदिन लुकेर बसेको काहानी भन्ने गथ्र्यो । अनि, लाहुरे कालो रेलको धुवाँले, म त कालो छाता हजुर ओड्दै नओड्नाले भन्दै नाच्ने र खित्का छोडेर हाँस्ने गथ्र्यो राई माइला । मलाई लाग्यो, कालीप्रसादहरूले राई माइलाले उसले गाउने गीत पनि सँगै लग्यो भनेको यसैलाई होला । होइन रहेछ, तामाङ ठुल्दाइले सुनाऐअनुसार राई माइला साँच्चै एक जमानामा गाउँमा युवाहरूका माझ, गाउँ गाउँबाट उठ, बस्तीबाट बस्तीबाट उठ, यो देशको मुहार फेर्नलाई उठ भन्ने अति नै लोकप्रिय र समाज परिवर्तनका लागि उत्प्रेरित गर्ने गीत भाका पुर्याएर गाउने गथ्र्यो । पोहोरको तिहारमा सामाजिक देउसीमा समेत आफैँ मादल बजाएर त्यही गीत गाउँदै गाउँघर घुमेको थियो । राई माइला हिँडेपछि अब त्यो गीत त्यस्तै भाका पुर्याएर गाउने मान्छे गाउँभरि नै छैनन् । राजनैतिक चेतनाको कुरा गर्दा राई माइला वामपन्थी विचारधारासँग नजिक थियो, तर सक्रिय कार्यकर्ताको रूपमा होइन । एकमनले सोच्दा राई माइलाजस्तो सचेत र जानेबुझेको मानिसले अचानक गाउँ छाड्नु सबैका लागि अचम्मको विषय बनेको रहेछ ।
राई माइलाले परिवारसहित वि.सं. २०८० चैत्र ३० गते (चैत्र शुक्ल चतुर्थी)का दिन बिहानका राति नै गाउँ छाडेको रहेछ, छरछिमेकी र गाउँलेहरूले सोही दिन दश–एघारबजेतिर मात्र यो कुराको पत्तो पाए र उसको घर गई हेर्दा ढोकामा ताला लगाएर नागबेली र कुकुरडाइनी लहराले छेकबार लगाएको रहेछ । बाहिरफेरका सामानहरू जस्ताका तस्तै यत्रतत्र छरिएका थिए ।
छरछिमेकीले बताएअनुसार चैत्रको दोस्रो हप्तातिर राई माइलाको घरमा चिसापानीतिरका एकजना राई ङोपाको आइजाइ देखिन्थ्यो । सोध्नेहरूलाई राई माइलाले आमा बिरामी भएकोले घरभित्रको कुलपूजाआजा गर्न कुलधामी बोलाएको भनेको थियो । चैत्र २६ गते सोमबार ओैंसीको बेलुका राई माइलाको घरमा धामीचिन्ता बसेको र ढ्याङ्ग्रोको आवाज सुनिएको रहेछ, अर्को दिन बिहानै राई माइला पछिपछि र ती कुलधामी अघिअघि भएर घरतल्तिरको बारीमा र दुई वर्षअघि गएको घरछेउको पहिरो पछ्याउँदै घरभन्दा तलको खोल्सीसम्म के के खोजेजस्तो गर्दै गरेको छिमेकी कार्की कान्छाले देखेका रहेछन् तर राईको घरपरिवारको दुःखाइपिराइ, कुलपूजा र धामीझाँक्रीको कुरा भएकोले गर्दा खासै चासो पनि राखेनछन् । त्यसपछिका दिनहरूमा राई माइला अलिक हतास जस्तो, एकोहोरो जस्तो, र छरछिमेकी साथीभाइसँग पनि कम बोल्ने र के भयो भनेर सोध्दा पनि ठीकै छ मात्र भनेर पन्छिने गर्नथालेको रहेछ । राई माइला घरीघरी घरमुनिको बारीमा जमिनमा के के खोजेजस्तो गरी तलमाथि र वरपर गर्ने गरेको र अझ तलको खोल्सीबाट माथि बारीतिर हेर्दै धेरैबेर टोल्हाउने गरेको पनि तामाङ ठूल्दाइले देखेका रहेछन् तर ती सबै कुरा खेती किसानी गर्नेहरूको फुर्सदका दिनचर्याजस्तै लागेर खासै चासो दिएर सोधीखोजी पनि गरेनछन् ।
सवैकुरा सुनेपछि मलाई अझ खुल्दुली भयो, राई माइलाभन्दा अझ धेरै दुःखी, धेरै व्यथा र पीडा भएका, र समाजमा सकारात्मक छाप छोड्न नसकेकाहरू त अझै गाउँमै बसेकाछन् भने उसले चैं किन गाउँ नै कसैलाई थाह नै नदिई छोड्नु पर्यो होला । के उसका छरछिमेकी, साथीभाइ आफन्तहरूले राई माइलालाई गाउँ नछोड्न भनेर नैतिक, भौतिक, आर्थिक सरसहयोग, भरथेग र सान्त्वनासमेत दिएनन् कि वास्तवमै कसैले थाह पाएनन् राई माइलाको पीडा र पिर?
राई माइलाले पाँच–छ महिनाअघि मझुवातिरको टाढाको आफन्तसँग टिमाई र ठोट्ने खोलाको दोभानछेउको राईनी ठूलीको भट्टीपसलमा ठर्रा (लोकल रक्सी) पिउँदा आफ्ना पारिवारिक पिर र बेथाहरू अनि एकपछि अर्को दुःखले सताएको, आफूलाई सपनाहरू पनि नराम्रामात्र आउने र आफ्नो परिवारमा कुलदेवता र पितृहरूको नराम्रो छायाँ परेको जस्तो लाग्नेकुरा सुनाएको रहेछ । साथै आफूलाई टाढा कतै कसैले नभेट्ने ठाउँमा बसाइँ सरेर जाऊँ कि भन्ने सोच आउनेगरेको बताएकोरहेछ । पछि तामाङ ठुल्दाइसँग भेट्दा ती राई माइलाका टाढाका आफन्तले राई माइलाले भनेका कुराहरू सुनाउँदै के कसरी हुन्छ राई माइलाजस्तो असल मान्छेलाई सबैले सरसहयोग र ढाडस दिएर गाउँ छोड्न दिनुहुन्न है भनेका पनि रहेछन् । यो कुरा बुझेका तामाङ ठुल्दाइले राई माइलालाई मानिसको जिन्दगीमा सानो ठुलो दुःख–पिर सबैलाई हुन्छ अत्तालिनु हुन्न, हामी गरिबदुखीहरूलाई , वर्मा गए नि कर्मसँगै भनेजस्तो पिर बेथा र अभावले कहिले नछोड्ने बताउँदै बरू भू पू माइलालाई आफूले सकेको सबै खालको सहयोग गर्ने वचन दिएका रहेछन् । छोराको लागि राई माइलाले लिएको ऋणको बोझले गाह्रो भएको हो कि भनेर तामाङ ठुल्दाइ एकदिन राई माइलालाई साथ लिएरै कुलबहादुर साहुकहाँ गएर सबै बेलिविस्तार लगाएछन्, कुलबहादुरले पनि त्यसको धेरै पिर नलिनू म दुईवर्षसम्म सावाँब्याज लिन्न, त्यसपछि अवस्था हेरेर फेरि सल्लाह गरौंला भनेका रहेछन् । बरू राई माइलालाई सजिलो होस् भनेर उसको धरौटी राखेको पेन्सनपट्टासमेत फिर्ता दिएछन् । केही समयपछि राई माइला र तामाङ ठुल्दाइ दुवैजना साथै पहरीगाउँ गएर जेठीछोरीका सासूससुरासँग पनि भेटघाट गरेर जेठी छोरी र नातिनीको भरणपोषणको लागि खर्च दिने सर्तनामा र मन्जुरी गराएर आएका रहेछन् । नातिनीलाई पनि प्यूरे गाउँ कै प्राथमिक विद्यालयमा शैक्षिकसत्रको बीचमै भए पनि विद्यालय अध्यक्ष र प्रधानाध्यापकलाई भनेर बालकक्षामा भर्ना गराएछन् । यति कुराले पनि राई माइलालाई धेरै राहत महससु भएको थियो भन्ने बुझियो । राई माइलाका अरूले हेर्दा झट्ट देखिने र बाहिर थाह भएका ठूला समस्या थिए जस्तो कसैलाई लागेको थिएन । तर मानिसको जीवन समस्यारहित र तनावमुक्त त कहिले पो हुन्छ र ? जस्तै भए पनि आफ्नु दुःखको भारी आफैँले बोक्नु नै पर्छ, र आफ्नो भाग्य आफैँले भोग्नु नै पर्छ ।
यति कुराकानी सुनेर राई माइलाको बारेमा यति धेरै बुझिसक्दा पनि उसले किन अचानक गाउँ छोड्यो होला र कहाँ गयो होला भन्ने अनुमानसमेत गर्नसकिएन । म पनि कार्की कान्छा, तामाङ ठुल्दाइ, सङ्ग्रौला साइँला र चन्द्रकान्तसँग बिदा मागेर राई माइलाले भरखरै छोडेर गएको ढोकामा ताल्चा लगाईराखेको चिटिक्क परेको ढुङ्गामाटोले बनेको पुरानो जस्तापाता लगाएको घरलाई हेर्दै जोरसाँघुतिर ओह्रालो लागें । मेरो विचार साँझ नपर्दै जोरसाँघु नजिकैको घट्टे होमस्टेसम्म पुगेर त्यहीँ बास बस्ने थियो । होमस्टे सञ्चालक मेरो आफ्नै काकाको छोरा विमल थिए, मैले मोबाइलबाट आफू त्यहीँ बस्न आउनलागेको बताएँ । विमल राति त्यहाँ नबस्ने तर उनको सहयोगी चिसापानी इरौंटारका उमेश राई बस्दारहेछन् । खाना र बासको प्रबन्ध भएपछि म बिस्तारै पुगे पनि हुने भयो ।त्यसैले म ठोट्ने खोलामाथिको झोलुङ्गे पुल तरेर ढोडेनीको पुछारमा भएको राईनी ठुलीको भट्टीपसल पुगेँ । त्यहाँबाट राई माइलाले गाउँ छोडेको बारे केही मेसो पाइन्छ कि भनेर । नभन्दै केही चाखलाग्दा कुराहरू जानकारीमा आए ।
गाउँ छोड्नुभन्दा एक–दुई हप्ताअघि राई माइला चिसापानीतिरको एकजना ङोपा (राई कुलधामी) सँग दुईतीन पटक त्यो बाटो ओहोरदोहोर गरेको र राईनी ठुलीको पसलमा खाजा (लोकल रक्सी र मासुचिउरा) खाएका रहेछन् । उनीहरू बीच के कुरा हुन्थे त्यो त राईनी ठुलीलाई थाह भएनछ तर राई माइला पहिले पहिलेभन्दा अलिक बढी नै पिउनथालेको र चिन्तित देखिन्थियो रे । यति सुनेपछि म ती कुलधामीलाई भेट्नसके राई माइलाबारे अझ बढी जानकारी पाइनेरहेछ भन्ने मनमा सोच्दै टिमाई खोलामाथिको झोलुङ्गेपुल तरेर घट्टे होमस्टेतिर ओह्रालो लागें । होमस्टेमा पुग्दा तीसवर्ष हाराहारीको एक युवक र साठी–पैंसठ्ठी वर्षकाजस्ता देखिने एक प्रौढ यताउता गरेर बसेका रहेछन् । म पुग्ने बित्तिकै युवाले आफूलाई उमेश राई भनेर चिनाए र नमस्कारसहित मलाई स्वागत गरे । विमलभाइले उमेशलाई म त्यहाँ बस्नेगरी आउने कुरा भनेका रहेछन् । उमेशले बेलुकीको खानामा फापरको रोटी, काली निगुरोको साग, लोकल कुखुराको मासु र कोइरालाको फूल र आलुको अचार तयार पारेको र सबै स्थानीय अग्र्यानिक उत्पादनबाट बनाएको बताए । भाइ विमलले मेरो लागि तेल, खुर्सानी, मसला र नुन कम गरेर खाना बनाउन पनि भनिदिएका रहेछन् । होमस्टेमा त्यसदिन रात बस्ने अरू पाहुनाहरू रहेनछन् । मलाई देखाइदिएको सुत्नेकोठामा मेरो सानो ब्याग राखेर, फ्रेसभई केहीबेर आराम गरेर खाना खानेठाउँमा आएँ । खाना खाँदै कुरा गर्दै जाँदा थाहभयो, त्यहाँ भएका प्रौढव्यक्ति उमेशका बावु जीतबहादुर रहेछन्, छोरा भएको ठाउँमा आजैमात्र आएका रहेछन् । मैले आफू राई माइलाले गाउँ छोडेको कुराबारे जान्न प्यूरेगाउँ गएर फर्किंदैगरेको बताउँदा जीतबहादुरले अकमकाउँदै किन होला भनी सोधे । मैले दिनभरको प्यूरे गाउँको कुराकानी र राईनी ठूलीको भट्टीपसलसम्मको घटनाक्रम बताउँदा जीतबहादुरले छक्क पर्दै राई माइलासँग ओहोरदोहोर गरेको भनिएको मानिस आफू नै भएको बताए । कस्तो संयोग ! मैले भेट्न खोजेको मान्छे मेरै अगाडि पाउँदा म दङ्ग परें । अब बल्ल मलाई राई माइलाले गाउँ छोडेको कुराको चुरो कुरो थाह पाइने भयो भन्ने लाग्यो सबै कुरा सुनिरहेका उमेशले हाम्रो कुराकानीमा थपे, उनका बुवा जीतबहादुर नै त्यसक्षेत्रका राईहरूका कुलधामी हुन् । राई समुदायमा आफ्नो मुन्धुमअनुसार चाडपर्व, पूजापाठ, मरिमराउ, पितृकर्मदेखि लिएर झारफुक सबै कार्य उनले नै गरिदिने चलनरहेछ । भोजपुरको तुवाचुङ्ग पुख्र्याैली थलो भएका राईहरूका सन्तान त्यहाँबाट सुनसरीको चक्रघट्टी त्यसपछि मोरङको मधुमल्लाछेउ तोरीबारी हुँदै उनीहरूका सन्तान दरसन्तान राई माइलाका बुवा र जीतबहादुरका बुवाहरूको पुस्ता एकै समयमा वि.सं. २०२३÷२४ सालतिर मोरङको मधुमल्लाछेउको तोरीबारी भन्ने ठाउँबाट बसाइँ आएका रहेछन् । सुरूमा प्यूरेकै खतिवडा श्रीधर बाजेको टिमाईको बेंसीखेत कमाएर बसेका जीतबहादुरका बावु पछि वि.सं.२०३५÷३६ सालतिर ईराँैटारको चिसापानी नजिक बीस रोपनी माटो किनेर अहिले बसेको ठाउँमा सरेका रहेछन् । भोजपुरको तुवाचुङ्ग पुख्र्याैली थातथलो भएका यी दुवै परिवारबीच बिहाबारीसम्बन्धले गर्दा साइनोमा जीतबहादुरका बावु राई माइलाका मामा (आमाको काकाको छोरा) पर्ने भएकाले करिब दशवर्षको उमेर फरक भएका राई माइला र जीतबहादुर बीच दाज्यूभाइको साइनो रहेछ । राई माइला हाङ्खिम राई र जीतबहादर दुङ्माली राई रहेछन् । गाउँघरमा जीतबहादुरलाई दुङ्गमाली कान्छा भनेर चिनिंदोरहेछ ।
खाना खाइसकेपछि मैले जीतबहादुरलाई राई माइलाले किन गाउँछोडेको रहेछ भनेर सोधें । जीतबहादुरले बताएअनुसार २०८० फागुनको अन्तिमतिर एक साँझ राई माइलाकी आमालाई अचानक शरीर काम्ने आएछ, देवता बोलेको भनेर आमाको मुखबाट आफ्नो घरको माङ्ग (पितृ देवताहरू) र सिया (भूतप्रेतहरू)हरू रिसाएका र परिवारमा दुखाइपिराइदेखि घरव्यवहार बिग्रिएको अनि अबको तीन महिनाभित्र अझ ठूलो सङ्कट र अनिष्ट पर्न लागेको भन्दै खबरदारी भएछ । राई माइलाले देवता चढेकी आमालाई शुद्धजल छर्किंदै अब के गर्नुपर्छ भनी सोध्यो । आमाको बोलीमा ङोपा (कुलधामी)लाई बोलाएर, पहिरोमा हराएका सबै कुलदेवीदेवता खोजेर फेरि स्थापना गरेर घरमा पूजाआजा गरी ङोपाले अह्राएको गर्नुभन्ने आदेश भयो । राई माइलाले आफूले देवताको बोली अनुसार सबै गर्छु भनेर घरभित्रको थानमा शिर राखेर ढोग्यो र देवता चढेकी आमालाई शरीरमा शुद्ध जल छर्किदियो । घरपरिवारमा देवताका कुरा आमाका मुखबाट सुनेका परिवारका सबैजना अब के हुने हो भनेर डराए ।
खाना खाएर सबैजना सुते, राई माइलालाई धेरैबेर निद्रा लागेन, छटपटिइरह्यो । कतिखेर झकाएछ थाह पाएन, राई माइलाले लामो सेतै फुलेका कपाल, दाह्रीजुँगा, हातखुट्टामा लामा नङ् र चप्पल जुत्ता नलगाएका खालीखुट्टा र धेरै दिनदेखिका भोकाजस्ता लाग्ने दुब्लापातला बराहक्षेत्रको खुवालुङ नजिक सुनकोशीको पूर्वकिनारमा बसिरहेको उसका बाबुलाई भेटेछ । राई माइलाले बावुलाई घरतिरको हालखबर र देवताले आमाको बोलीमा भनेका सबै कुराको बेलिबिस्तार लगाएर बावुको काखमा बेस्सरी रोएछ । उसका बाबुले कुलपूजा बिग्रेकाले गर्दा अझै आफूले संसार छोडेर जान नपाएको, यतै भौंतारिइरहेको र परिवारको दुःख नजिकैबाट देखिरहेको बताए । संसारिक दुःखमा आफूले केही गर्न नसके पनि घरपरिवारको भलो होस् भनेर पहिरोमा हराएका देवीदेवताका शिलास्वरूपहरू र सामग्रीहरू भेला पारेर घरमुनिको खोल्सापारि एउटा जामुनको फेदमा सजाएर राखिदिएको र आफूले रेखदेख गरेको बताएछन् । आफ्नो पनि चिहानभित्र पचिनसकेको हाडखोडहरू पहिरोमा परी खोल्सीमा यत्रतत्र छरिएको र तिनलाई पनि फेरि ङोपासँग सल्लाह गरेर दाहसंस्कार गरिदिनु भनी अह्राएछन् । राई माइलाले बावुलाई घरै जाऔँ भनी हात समाउन खोज्दा बाबु अलप भएछन् । कस्तो सपना देखें भन्दै राई माइला ब्युँझियो । राई माइला सपनासँग डराउँथ्यो किनकि उसका सपना प्रायःजसो बिपनासँग मेल खान्थे । कान्छो ज्वाइँ गाडीदुर्घटनामा परेको अघिल्लो रात राई माइलाले सपनीमा ज्वाइँलाई चीलले टिपेर आकाशतिर गायब भएको देखेको थियो । बाबुको स्वर्गवास भएको अघिल्लो राति बिरामीबाबुलाई स्वर्गवासी सेता लुगा लगाएका उसका घरका र मावलीका हजुरबाबुहरूले लिएर घरबाट ओह्रालो लगेको देखेकोथियो । दुईवर्षअघि पहिरोले बारी बगाएको अघिल्लो रात पनि हाँसपोखरीमाथि थामडाँडा कि पाथिभरादेवी कि दूत हुँ भन्ने एक बिछट्टै सुन्दरीले सपनामा राई माइलालाई आफूहरूको बस्ने थलो सुरक्षित नभएकोले गुहार माग्न आएको बताएकी थिइन भोलिपल्ट राई माइलाको बारीसहित देवीथान पनि बगेको थियो । यसरी धेरैसपनाहरू विपनामा पनि मेल खाएको राई माइला बावुसँगको सपनापछि फेरि निदाउन सकेन । कतिखेर बिहान होला र चिसापानीमा दुङ्गमाली कान्छा दाइलाई लिनजाने भनी ओल्टेकोल्टे फर्किरह्यो । झिसमिस हुनासाथ उठेर चाँडचाँडो नित्यकर्म सकेर भान्छाकोठामा भएको चामलको वाल्टीबाट एकमुठ्ठी चामल सानो प्लास्टिकको झोलामा बोकेर राई माइला ओह्रालो लाग्यो । बिहानको साढे छ पनि नबज्दै चिसापानीमा जीतबहादुरको घर पुग्यो र आमाले भनेका कुरादेखि बाबुसँंग सपनाको भेटका कुरा सबै बतायो । जीतबहादुरकी श्रीमतीले दुई गिलास चिसोचिया ल्याएर राखिदिइन्, राई माइलाले भाउज्यूलाई ढोगदियो । भाउज्यूले राई माइलाको घरपरिवारको हालखबर सोधिन्, सबै ठीकै छ भाउज्यूभनेर जीतबहादुर दाइसँग सरसल्लाह गर्न एकाबिहानै आएको राई माइलाले बतायो ।
जीतबहादुरले राई माइलाले साथमा ल्याएको चामलबाट तीनओैंलाले चेपेर थोरै चामल एउटा काँसको थालमा छरे, अनि मसिनो स्वरमा मन्त्र पढ्दै जोरबिजोर बनाई थालमा यताउता सारे । के के हिसाब जोडेजस्तो गर्दै टाउको हल्लाए । फेरि अलिकति चामल थालमा थपेर सात सातदाना चामलको सातभाग लगाए । पाँचदाना चामल फाल्टु भयो । उनले निकैबेर घोरिएर सोचे र टाउको मात्र हल्लाए । थालको सबै चामलका दाना मिसाए र फेरि केही चामल हातले थपे । अघिकै जस्तोगरी नौ नौ दाना चामलको सात भाग लगाए, बाँकी दाना गन्दा सात रह्यो । फेरि निकैबेर घोरिएर आँखिभौं खुम्च्याउंदै टाउको हल्लाए । यही क्रममा अरू दुईपटक चामल थप्दै, एघार र तेह्र दाना चामलका भाग लगाए । एकपटक नौ र अर्को पटक छ दाना चामल फाल्टु भए । जीतबहादुर सोच मग्न हुने र टाउको हल्लाउने क्रम चलिरह्यो । अन्तिम पटक जीतबहादुरले अलिकति चामल राई माइलाका हातमा राखिदिए र ती दाना गनेर आफूलाई दिन भने । चामलका दाना गन्दा सत्ताइस दाना भयो । अचम्मको कुराअघि जीतबहादुरले चामलका दाना भाग लगाउँदा फाल्टु भएका चामलका दाना पनि जोड्दा जम्मा सत्ताइस नै थियो । थालबाट गनेर सत्ताइस दाना र राई माइलाले गनेका सत्ताइस दाना एकै ठाउँमा मिसाई जीतबहादुरले सानाठूला भाग लगाउँदै मिसाउँदै हिसाब गर्दै टाउको हल्लाउँदै गरेपछि ती चौउन्न दाना चामल छुट्टै राख्नु भनी एउटा कागजमा राई माइलालाई दिए । जीतबहादुरले बाँकी चामल पनि प्लास्टिकमा राखेर राई माइलालाई फिर्ता दिंदै घर गएर सिमाली र काउलोको सेउला, घुँघुरूको लहरा, निगालोका पाँचवटा लिङ्गा, कुखुराको अन्डा दशवटा ठीक पारिराख्नु बेलुका आफू प्यूँरे आएर फेरि राम्रोसँग हेरिदिने बताए । राई माइलाले कस्तो देखियो त दाइ भनी सोध्यो, तिम्री आमाले भनेका र सपनामा तिम्रा बाबुले सुनाएका कुरा सबै मिलेको देखिन्छ, तिम्रो घरतिरको र मावली दुवैतिरको पितृहरूको राम्रो उद्धार नभएर संसारमै सियाँ भएर भौंतारिएका जस्तो देखिन्छ । म बेलुका फेरि सबै केलाएर हेर्छु, अहिले जाऊ बेलुकाको पूजाका लागि तयारी गर, म आज उतै बस्नेगरी आउँछु ।
माङ्पा (पूजापाठ, झारफुक र अन्साइपन्छाइ गर्ने) र ङोपा ( कुलधामी )को कामका लागि चाहिने आफ्ना सबै सामग्रीहरू लिएर बेलुका जीतबहादुर राई माइलाको घर आइपुगे । यथायोग्य ढोगभेट र घरपरिवारको कुशलमङ्गल सोधपुछपछि जीतबहादुर पूजाको थान बनाउन लागे, राई माइलाले बिहानको सल्लाहअनुसारका सबै सामान ठीक पारेको थियो । घरको सिकुवामा उत्तर–पूर्वछेउ गोबरले लिपेर शुद्ध पारेको भुइँमा केराको डाँठसहितको पात ओछ्याएर, त्यसमाथि निगालो र सिमालीको लिङ्गा बनाएर रातो, पहेँलो, सेतो कपडाका धजा वनाएर बाँधे । अदुवाको पानासहितको हरियो बोट पनि थानमा राखे । सानो काँसोको लोटामा पानी हालेर त्यसमा आँपको पात र लालुपाते फूलसहित राखेर कलश बनाए । हरियो बाँसको एक हातजति लामा दुईवटा सिटाको दुवै छेउमा खुर्पाले खुर्किएर फुर्का बनाएर थानमा राखियो । दिपबत्तीको लागि टपरीमा अलिकति चामल, एउटा सिक्का पैसा र फूल राखेर तामाको दियोमा तोरीको तेल र कपासको बाती हालेर तयार पारियो । केराको पातमा लहरै नौ ठाउँमा चामलका सानासाना थुप्रा लगाएर प्रत्येक थुप्रामा सिक्का पैसा, अबिर र फूल राखेर नौग्रहको थपना गरियो । थानको छेउमा तर छुट्टै एउटा पलाँसको पातमा अलिकति चामल, सिक्का पैसा, अबिर, फूल र एउटा सानो फलामको किलासमेत राखेर सिमेभूमे, भूतप्रेत, पिशाचका लागि पुज्ने ठाउँ ठीक पारियो । त्यतिबेलासम्ममा राई माइलाकी श्रीमतीले चामलको पिठोको सानासाना बाबर पकाएर ल्याईसकेकि थिईन्। झोलाबाट जीतबहादूरले अलिकति सुकेका टोटलाका बीज निकाले र बाबर रोटीसँगै सवै थुप्रामा एकएकवटा राखे। राई माईलाले कूलको रूपमा पुज्ने गरेको रातो कपडाले मोहोरेको वस्तु खोपाबाट ल्याएर जीतबहादुरलाई दियो । जीतबहादुरले त्यो वस्तुलाई टाउकोमा छुवाएर ढोगेर थानको बीचभागमा राख्यो । झोलाबाट तामाको त्रिशूल, खुर्पा र बाँस खिपेर बनाएको धनुकाँड निकालेर थानको बीचभागमा गाड्यो र अबिर अनि फूल लगाइदियो । राई माइलाले पेरुङ्गामा सुकेका सानामाछा र एक बोतलरक्सी ल्याएर जीतबहादुरलाई दियो, घरमै पूजाका लागि तयार पारेको छ्याँङ् पनि ल्याइयो । मुसुरे कटुसको सट्टामा डालेकटुसको पात, तितेपाती र काउलोको सेउली तयार पारेर राई माइलाले दियो, कुखुराको अन्डा दशवटा दिउँसै खोजेर राखेको थियो । धुपहाल्नको लागि कोइलेंटोमा सखुवाको बलिरहेका कोइला र सालधुप ठीक पारेपछि जीतबहादुरले आफ्नो जामा, रूद्राक्षमाला, घण्टी ( घँुंघुरू )को माला, सर्पको हड्डीको माला, मयूर र कुखुराको प्वाँखको कल्की भएको फेटा टाउकोमा लगाए, काउलो र डाले कटुसको हरिया पातहरू शरीरका लुगामा दुईचार ठाउँमा टाँसे । निधारमा खरानीको टीका लगाए, ढ्याङ्ग्रोमा दुवैपट्टि खरानीले त्रिशूलको आकार बनाए । एउटा काँसोको थाललाई पूजागरेर चिन्ता बस्दा बजाउने बनाएर थानछेउमा राखे । बिहान राई माइलालाई दिएको चउन्नदाना चामल मागेर अर्को काँसोको थालमा राखे, त्यसमाथि चउन्नदाना भएको रूद्राक्षको माला र सानो कर्द राखे । एउटा काँसोको बटुकोमा काउलोको पात पानीमा घोलेर लिसाइलो झोल बनाई काउलोकै सेउलीको अभिशेष गर्ने गुच्छा बनाए । यसरी पूजाथानको तयारी र आफू तयार भएपछि जीतबहादुरले घरका सबैलाई थानको अगाडि बस्न लगाए र राई माइलालाई आफूले भनेको बेला काउलो पानीले उनलाई अभिषेक गरिदिनु भनी अह्राए । जीतबहादुरले त्यसपछि धुपदीप बालेर अक्षताले थानमा छर्कंदै राई मुन्धुमअनुसार मन्त्र फलाक्दै थानमा स्थापना गरेका देवीदेवता र पितृहरूका थपनामा क्रमशः पूजा गरे । थाल ठटाए, ढ्याङ्ग्रो बजाए, अनि कुलदेवतादेखि सिमेभूमे सबैलाई यथास्थानमा आएर बसिदिन आह्वान गरे र क्रमशः रक्सी, छ्याङ र अन्डा अनि सुकेको माछा अर्पण गरे । त्यति बेलासम्ममा जीतबहादुरको जिउमा कम्पन आइसकेको थियो । उनी ढ्याङ्ग्रो बजाउँदै विभिन्न मन्त्रहरू फलाक्दै उठेर थानलाई घुमेर घरबाहिर निस्केर घरलाई तीनफेरा लगाएर थानमा आई सबै पितृ तथा देवीदेवतालाई आफूमाथि कृपा गर्न र आजको पूजाआजा सफल पार्न शक्ति दिन बिन्ती गरे । फेरि काँसोको थालमा चामलका दाना यताउता सार्दै विभिन्न सङ्ख्यामा साना थुप्रा लगाउँदै गन्ती गर्दै धेरैपटक त्यहीक्रम दोहोर्याए । परिवारका सवैको टाउकोमा छुवाएर अलिकति फूल र केही रूपैयाँ जोखाना हेर्दै गरेको थालमा राई माइलाले राखिदियो र घरपरिवार, कुलदेवतादेवी, सिमेभूमे, खेतीपाती सबैकुराका बारेमा राम्रो नराम्रो र दुःखाइपिराइ खुट्याएर हेरिदिनु परमेश्वरी भनी अनुरोध गर्यो । जीतबहादुरले जोखानाको थालमा चामलका दाना थुप्रा लगाउँदै सानो खुर्पीले छुट्याउँदै गन्ती गर्दै के के सोचेजस्तो गर्दै थानमा चामल छुवाउँदै फेरि थुप्रा लगाउने छुट्याउने गन्ती गर्ने क्रम दोहोर्याइ तेहर्याइ गरे । त्यसबीचमा एकपटक चिन्ताको लागि तयार पारेको काँसोको थाल ठटाउँदै घरवरिपरि घुमे, बारीको पल्लोछेउको पहिरोबाट तलतिर निकैबेर हेरे, घरमुनि बारीमा गएर के के खोजेजस्तो गरी खोस्रिएर हेरे, अनि फर्केर थानमा आएर कोइल्याँटोमा धुप थपे, सबै पितृ, देवीदेवता र थानमा भएका सिमेभूमेका थपनामा शुद्धजलले अभिषेक गरे, रक्सी र छ्याङ चढाए, थानमा निहुरिएर सबैलाई ढोगे । ढ्याङ्ग्रो र गजो समातेर थानमा छुवाए, ढोगे अनि बजाउन थाले । उनको शरीरमा कम्पन चलेकै थियो, त्यसै बेला उनको आवाज परिवर्तन भएर राई माइलाको बाबुको जस्तो आवाज आयो । राई माइलाले सपनीमा भेट्दा जे जे बावुले भनेका थिए सबै कुरा बेलीबिस्तारमा जीतबहादुरको मुखबाट बके । नयाँ कुरामा राई माइलाको घरबारी तलतिर जमिन चिरा परेको र धसिन थालेको त्यसले ठूलो अनिष्ट ल्याउन लागेको बताए, साथै आफूसहित अरू पितृहरूको उद्धार गर्न घरको कुलथानलाई पहिला आफूहरू आएकै बाटो भएर पैतृक उत्पत्तिस्थल लगेर पुनः जोडाइदिनु भनेर बताए । राई माइलाले पुर्खाहरू आएको बाटो बताइपाऊँ परमेश्वरी भनी सोधे । बावुको स्वरमा जीतबहादुरले बकेअनुसार तोरीबारी, चतरा, खुवालुङ त्रिवेणीघाट (अरूण÷तमोर र सुनकोशी नदी दोभान) हुँदै तुवाचुङ्ग भोजपुर पुगेपछि आफूहरूको पुख्र्याैली थातथलो पुगिने बताए । त्यही बेला राई माइलाकी आमालाई पनि देवता चढ्यो र बक्न थालिन् – धेरै कुरा पहिले कै दोहोरिए पनि आफूपट्टिका कुलहरूको पुख्र्यौली थातथलो पनि तुवाचुङ्ग नै भएको र एकै समयमा उही बाटो र ठाउँ हुँदै यहाँसम्म आएको बताइन् र आफूहरूलाई पनि चाँडै यो ठाउँबाट चाँडै सुरक्षित ठाउँमा लगिदिन भनिन् । जीतबहादुरले शुद्धजलले छम्किदिएपछि राई माइलाकी आमा चुप लागिन् । जीतबहादुरले देवता चढेकै भाषामा उपाय पनि बताउँदै गए, पहिरोमा हराएका देवीदेवता खोजेर पुनःस्थापित गर्ने, पहिरोमा भेटिएका बाबुका हाडखोड फेरि सुरक्षित ठाउँमा गाडेर सदगति गर्ने, घरको कुलथानलाई नियमित सेवा गर्ने र पुख्र्यौली थलोमा लगेर आदिपुर्खाहरूसँगै जोडिदिने काम जतिसक्दो चाँडो गर्नु भनी सुझाए र त्यसको लागि वैशाख शुक्ल पूर्णिमा (चण्डीपूर्णिमा) असल साइत हुने बताए । त्यसपछि जीतबहादुरको पनि कम्पन बन्द भयो, उनले थानमा थपना गरिएका सबै पितृ, देवीदेवता, सिमेभूमेहरूलाई यथायोग्य पूजाआराधना गरिदिए र क्रमशः सबैलाई बिदाइ गरे । रातको बाह्रबजे पूजाआजा सकियो । त्यसैबेला घरबाहिर बुढोमान्छे खोकेको जस्तो आवाज सुनियो, राई माइलाले बाहिर गएर हेर्दा यौटा सेतो लुगा लगाएको मानिसजस्तो देखिने आकृति बारीको पल्लोछेउबाट पहिरोतिर गएको देख्यो । उसलाई आफ्ना बावुको भझल्को आयो । जीतबहादुरले गरेको पूजाआजा र त्यहाँ सुनेका कुराहरूले राई माइलाको परिवारका सबैजनाको अनुहारमा एक किसिमको डर पसेको प्रष्टै देखिन्थ्यो, राई माइला झन् धेरै डराएको थियो । सबैजना सुते, त्यसरात जीतबहादुर पनि राई माइलाको घरमा नै बसे ।
राई माइलालाई धेरैबेर निद्रा लागेन । कतिबेला झकाएछ, घरअगाडि उभिएका राई माइलाका बावुसँग भेटभयो । बाबुले आइज म तँलाई तुवाचुङ्ग लगिदिन्छु भनेर लिएर गएछन् । उनी बाबुसँगै मोरङ तोरीबारी ठुल्दाइकोमा, त्यसपछि सुनसरी चतरामा काकाको घरमा, त्यहाँबाट बराहक्षेत्रमा खुवालुङ्गलाई दर्शन गर्दै त्रिवेणीघाटमा अरूण (तमोर) तरेर खोटाङको बाटोभएर भोजपुरको तुवाचुङ्ग पुगेर त्यहाँ बुबाका हजुरबुबाका दाजुभाइका सन्तानहरूसँँंग भेटघाट गरेछन् । एकदुई दिन त्यहाँ बसेर बाबुसँगै तीनदिन पैदल हिँडेर राईहरूको पवित्र तीर्थस्थल भोजपुरको साल्पापोखरी पुगी स्नान गरेर पवित्र सिलाचुङ्ग पर्वतमा महादेवको दर्शनपनि गरे । भोजपुर जिल्लाको साल्पासिलिछो गाउँपालिकामा अवस्थित ३ हजार ४४३ मिटरको उचाइमा रहेको धार्मिक एवम् पर्यटकीय स्थल साल्पापोखरीमा वैशाख पूर्णिमा (चण्डीपूर्णिमा)को दिन ठूलो मेला लाग्ने रहेछ । त्यो दिन राई माङ्पा, ङोपा, बिजुवाहरू दैवीशक्ति माग्न साल्पापोखरीमा नुहाएर सिलिचुङ्ग पर्वतमा महादेवको दर्शन र पूजाआजा गर्दारहेछन् । त्यसैगरी पितृउद्धार र परिवारकल्याणको लागि आशीर्वाद लिन भक्तजनको घुइँचो लाग्नेरहेछ । यसरी पुख्र्याैलीथलो पुग्दा राई माइला खुशी भइरहेको बेला कसैले पछाडिबाट काँधमा हातले झकझक्यायो । राई माइलाको सपनी टुट्यो । बिहान भइसकेर जीतबहादुरले उठाएका रहेछन् । राई माइलाले सपनाको कुरा जीतबहादुरलाई सुनायो, आमाले पनि सुनिरहेकी थिइन्, उनले आफ्ना माइतीपट्टिका सन्तानहरू पनि राई माइलाका बाबुका सन्तानहरूसँगै तिनै ठाउँ र बाटा हुँदै आएका सुनेको बताइन् ।
चिया खाइसकेपछि राई माइला र जीतबहादुर घरमुनिको बारीमा गए । बारी साँच्चै गहिरा तेर्सो र ठाडो धाँजा परेर फाटेको रहेछ । धाँजाहरूले पुरानो पहिरोले बगेको बारीको डीलसम्म छोएका रहेछन् । राति जीतबहादुरले बकेको बेला भनेको कुरा ठिक निस्कियो । पहिरोबाट ओह्रालो लाग्दै खोल्सीसम्म झरे दुई भाइ । सपनीमा बाबुले भनेजस्तै खोल्सीपारिपट्टि जामुनको फेदमा त्रिशूलसहित केही शिलाहरू सजाएर बनाएको थानरहेछ । राई माइलाले पहिरो आउनुभन्दा अगाडि आफ्नै बारीमा भएका शिलाहरू र त्रिशूल चिन्यो । पहिरोको छेउमा मानिसको एउटा नलीखुट्टा, टाउकोको हड्डीका टुक्रा र करङका केही टुक्राहरू भेटिए । ती सबै जम्मा गरेर त्यही जामुनको फेदमा राखे । माथि घरमा गएर कसैलाई केही नभनी यौटा कोदालो, केही चामल र फूल, अनि यौटा लोहोटा लिएर फेरि तल आए । खोल्सीको पानी लोहोटामा ल्याएर थानको वरिपरि साफसुग्घर गरे । जीतबहादुरले राई मुन्धुमअनुसार पारूहाङ र सुम्निमाको उपासना गरिएको मन्त्र सुन्नेगरी भट्भट्याउँदै सवै देवीदेवता, पितृहरू र सिमेभूमेहरूसँग अहिलेसम्म सेवा पुर्याउन नसकेकोमा क्षमायाचना गरेर लोहोटाको शुद्धजल चढाउँदै अक्षेता र फूलले पूजाअर्चना गरेर यथास्थानमा रही राई माइलाको घरपरिवारमा आशीर्वाद दिन र रखवाली गरिदिन बिन्ती गरे । थानको नजीकै तीनहात लम्बाइ र दुईहात चौडाइ भएको खाल्डो खनेर पहिरोमा भेटिएका मानव हाडखोडहरूलाई त्यसमा हालेर जल, चामल र फूल चढाई दुईहात जोडेर दुवैजनाले क्षमायाचना माग्दै बिस्तारै जीतबहादुरले गुनगुनाएर पढेको मुन्धुमका वाणीसँगै पुरिदिए र माथिबाट जङ्गली जनावरले नखोस्रिउन् भनेर मैदलको काँडा, कुकुरडाइनीको लहराले छोपिदिए । त्यतिबेलै छेऊको झाडीबाट सानो जनावर दौडेजस्तो खस्र्याङ्गखुस्रुङ्ग आवाज आयो र विस्तारै हरायो । जीतबहादूरले राई माईलाका बुवाको भौंतारिएको प्रेतात्मा भागेको भनी अर्थलगाए र केहिमन्त्र भनेर आवाज आएतिर पानी छर्किदिए । त्यति गरेर खोल्सीको पानीमा हातखुट्टा धोईपखाली र मुख र शिर पानीले पुछेर माथिघरतिर लागे । राई माइलाले फर्किंदा उकालोमा उसलाई बावुले सपनामा भनेका, आमाले काम्दै भनेका, जीतबहादुरले चिन्ता बस्दा भनेका कुराहरू सबै दुरुस्तै मिलेकोले चाँडै अनिष्ट आउनेकुराले अझ धेरै डरलागेको बतायो । खोल्सीबाट माथि घरबारीतिर हेर्दा अहिलेको घरबारी तलतिर पनि पानी रसाइरहेको देख्दा राई माइला अझ डरायो ।
घरमा जीतबहादुर, राई माइला र आमा तीनजनाको चुम्लुङ बस्यो, सबैको बिचारमा कुल र पितृ दुवैले सङ्कट आउने बताएको र अरू सबै कुराहरू पनि मिल्दै आएकोले राई माइलाका बुबाले देखाइदिएको बाटो हुँदै पुख्र्यौली थलो फर्कनु नै सबैभन्दा उचित हुने निक्र्याैलमा पुगे । राई माइलाले श्रीमती र छोरीहरूलाई घरमा बिजुवा राखेको र त्यो दिनभएका केही कुरा पनि घरबाहिर कसैलाई नभन्नु भनेर सिकायो । जीतबहादुरले चैत्र ३० गते बिहानका राति नै घरबाट निस्केर हिँड्दा राई माइलाका बावुले भनेका सबै ठाउँ हुँदै कुल र पितृहरूको जोडान र अन्य बन्दोबस्तीका व्यवहार मिलाउँदै आरामले पुख्र्यौली थलो तुवाचुङ्ग पुगिने हिसाब निकाले । बरू राई माइलाले देखेको बाबुसँगको सपनामा जस्तै विपनामा नै अधिकमासको कारण वि.सं. २०८१ जेष्ठ १० गते पर्ने आउँदो बैशाख शुक्लपूर्णिमा (चण्डी पूर्णिमा)का दिन साल्पापोखरी (सिलिचुङ्ग) दर्शनका लागि जानलाई आफू पनि श्रीमतीसहित जेष्ठ महिनाको पहिलो हप्ता तुवाचुङ्ग आइपुग्ने बताए । यति सल्लाह गरेर जीतबहादुर चैत्र २९ गते बेलुका प्यूँरेमा उनको भान्जी ज्वाइँकोमा बासबस्दै आउने र बिहानको ३ बजे राई माइलाको घरबाट तल गौंडासम्म राई माइलाको परिवारलाई गाडी चढाउन जानेगरी आउने भन्दै चिसापानी घरतिर लागे।
राई माइलाले घरका सबैजनालाई आफ्ना आफ्ना अति आवश्यक सामानहरू झिटीगुन्टा बनाएर बोक्न सजिलो भारी बनाउनु भनी अह्रायो, सबैले त्यसै गरे । छोरो नितेशसँगै काठमाडौँ गएको तल्लोगाउँको कार्की केटो फेरि फर्किने गरी आएको रहेछ, पैसा फिर्ता लिन अझै समय लाग्ने कुरा उसले बतायो । राई माइलाले नितेशलाई घर आउँदा तोरीबारी बडिबाकोमा जानु भनिदिनु भनेर उसलाई खबर पठायो । कुलबहादुरलाई भेटेर अहिले आफूलाई गाह्रो साह्रो परेको भए पनि ढिलोचाँडो आफूले ऋण तिर्ने र खेत निखन्ने बतायो । कुलबहादुरले आफूले दिएको वचनअनुसार नै दुईवर्षसम्म केही नलिने भनेर ढाडस दिए ।
राई माइलाले आफूहरू परिवार नै गाउँ छोड्नलागेको कुरा कसैसँग गरेनन् । दुईदिनमा सबैको आ–आफ्नो प्याकिग सकियो । राई माइलाले दुईवटा काठका डिब्बामा बुवातर्फका र आमातर्फका कुल मानेरल्याएका शिलाहरू र तिनका सामानहरू छुट्टाछुट्टै राखेर रातो कपडाले मोहोरेर सुरक्षित किसिमले आफ्नो सामानको पोकामा राख्यो । बेलुकाको खाना सवैले सँगैबसेर खाए, सवैको आँखामा आँसु थिए, अनिश्चितता र उदासीनताले सबैका अनुहार फुङ्ग उडेका थिए । निद्रा नपरे पनि बिहान छिटो उठ्नुपर्ने भएकाले सवजना चाँडै सुते। विहान ३ बजे नै जीतबहादूर आईपुगे र सवैजना उठेर हतारहतार बाहिरफेर गएर दाँतमुख सफागरेर लुगाहरू लगाएर हिडनकालागि ठीक परे र सुतेका ओछ्यानहरू उठाएर यौटै खाटमाथि पट्याएर राखे। राई माइलाले आफूहरूसँग पितृहरू र कुलका देवीदेवताहरूका साथ भएकोले कसैले डराउनु नपर्ने भन्दै सबÞैलाई आ–आफ्ना सामान लिएर कतै केही नसोची बिस्तारै गौंडातर्फ ओह्रालो लाग्न अह्रायो । आफूले ढोकामा ताल्चालगाएर साँचो जीतबहादूरको हातमा राखिदिंदै नागवेली र कुकुरडाईनीका लहराले ढोकामा छेकबार राखिदियो । गौंडामा पुग्दा साढे पाँचबजेको थियो, त्यहाँबाट बस छ बजे छुट्यो । अलिक तलको घुमाउरो बाटोमा बाँसघारीले बसलाई नछेकुन्जेल जीतबहादुरले उनीहरू गएको बसलाई हेरिरहे । बसमा राई माइलाका परिवारलाई बिदा गरेर जीतबहादुर आफ्ना छोरा उमेश काम गर्ने र बस्ने घट्टे होमस्टे आएर दिनभर छोराकोमा नै बसिरहे, उनलाई राई माइलाले गाउँ छोडेको कुरा सपना कि विपना जस्तो भइरह्यो। कसैलाई केही भन्न सकेनन् र राई माइलासँगको सल्लाह पनि गाउँमा कसैलाई नभन्ने नै भएको थियो । तर दिउँसोतिर राई माइलाको परिवार गाउँछोडेर गएको हल्ला फैलियो। त्यहि हल्लाहरूका बिच सुनेका कुराहरूलाई शव्द र संगीतमा राखेर जोरसाँघुको झोलुंगे पुलमाथि बसेर राई माईलाले गाउँ छोड्यो रे ! भन्ने गीत बनाएका रहेछन् कालीप्रसाद, सुनिता र उनीहरूका साथीहरूले ।
राई माइलाकोबारेमा यति लामो कथा आज मात्र पहिलोपटक जीतबहादुरले मलाई सुनाएका रहेछन् । घटना विवरण भन्दैजाँदा उनी धेरै ठाउँमा भक्कानिएका थिए, धेरैपटक मेरो पनि आँखाहरू छचल्किएका थिए । अन्त्यमा मैले घडी हेरेर रातको बाह्र बजेछ, अब सुतौं, मलाई पनि बिहानको गाडी समाउनुछ भनी जीतबहादुरलाई नमस्कार गरेर धन्यवाद दिएँ । उनले पनि राई माइलाजस्तो एउटा असल मान्छे र परिवारले गाउँ छोड्दा आफूलाई धेरै दुःखलागेको र आज यति खुलस्त सबै कुरा भन्न पाएकोमा मन अलिक हलुकाभएको भन्दै नमस्कार फर्काए ।
म भोलिपल्ट बिहानै गौंडाबाट बस चढेर धुलाबारी फर्कें । म फर्केको बस र जीतबहादुरले बताएको राई माइलाहरू गएको बस एउटै परेछ, मलाई जान्ने उत्सुकताले बाटामा बसका कन्डक्टरलाई त्यसदिन गाडीमा चडेर गएका एकजना पुरूष, चारजना महिला र एक बच्चीका बारेमा सोधें, कन्डक्टरले राई माइला कि कान्छी छोरीलाई यही रूटको गाडीमा ओहोरदोहोर गर्दा पहिलेदेखि चिनेकारहेछन् । उनले बताएअनुसार त्योदिन राई माइलाहरू विर्तामोड उत्रिएर त्यहाँबाट पश्चिम जाने गाडी चढ्ने कुरा भएकोरहेछ ।
घर पुगेपछि राई माइलाले गाउँ छोडेको कुरा आमाबुवालाई छोटकरीमा सुनाएँ । वहाँहरूले राई माइलाले गाउँ छोडेको कुरा सुन्दा आफूहरूलाई पनि दुःखलागेको बताउनुभयो । वास्तव मैं कसैलेपनि गाउँ छोड्नु नपरे हुन्थ्यो – यही कामना गरौं।
(राई माइलाको भोगाइ सम्पूर्ण ग्रामीण भेगमा बस्ने हाम्रो आफ्नै भोगाइ हो, यसप्रति सबैजना संवेदनशील बन्नैपर्छ । कथामा उल्लेख गरिएका व्यक्ति र घटनाहरू काल्पनिक हुन, कसैसँग मेलखाएमा संयोगमात्र हुनेछ ! कथालाई केही आञ्चलिकतामा राख्न खोजिएको भए पनि सांस्कृतिक विवरणहरू आधिकारिक र पूर्ण छैनन्, यसलाई मात्र एउटा कल्पनामा आधारित कथाको रूपमा लिइदिनहुन सम्पूर्ण पाठकवृन्दमा अनुरोध छ)
कोटेश्वर, काठमाडौँ
तेजराज दाहाल
0 Comments