नानी रामरी हेर


आकास आफ्नी पाँचवर्ष कि छोरी सोनिकालाई विद्यालय पुर्याउँन जाँदै थियो। हातमा छोरीको विद्यालयको झोला र त्यसमा भएका किताब र कापीहरू थिए। आकास अलिक हतारमा केही नबोली अघि हिड्दै थियो, छोरी पछिपछि पछ्याइरहेकि थिई। विद्यालयमा छोरीलाई पुर्याएर उसलाई नन्दापारी जोरसिमल गएर साहुको ट्रयाक्टर लिएर दुईठाउँमा खेत जोत्न जानुपर्ने थियो।

विद्यालयको गेटमा पुगेर छोरीलाई झोला थमाउँन फर्केर हेर्दा उसले छोरीलाई साथमा देखेन। पछाडि परसम्म हेर्दा पनि सोनिकालाई देखिएन। आफुभन्दा अघि पो विद्यालय पसि छ कि छोरी भन्दै आकासले विद्यालयको परिसरभित्र पनि आँखा डुलायो, कतै देखेन। चौरमा खेलिरहेका छोरीका साथीहरूलाई सोधिखोजी गर्यो, कसैले देख्यौं भनेनन्। आकासलाई मनमा चिसो पस्यो। उसले संझ्यो, केहीबेरअघि शिवालयछेउ बाटोमा दुईजना मद्राशी साधुहरूसँग बावु छोरीको जम्काभेट भएको थियो। साधुहरूले उ सँग अलिक अनौठो लवजमा जय शम्भो भन्दै पैसा पनि मागेका थिए, आकासले पैसा त दिएन तर साधुहरूको अनुहार चैं राम्ररी हेर्यो। कताकता उसलाई आफु सानो छँदा सुनेका बच्चा चोर्ने साधुहरूका अनुहारको झल्को आयो। सोनिका पनि साधुहरूसँग डराएर आकाससँग टाँसिइएकि थिई। त्यहाँभन्दा अगाडि बढेपछि आकास आफ्नैसुरमा पछाडी फर्केर नहेरी र कसैसँग नबोली छोरीभन्दा अघिअघि हिंडेको थियो। अहिले छोरी साथमा नभएकि र यताउता खोज्दा पनि नभेटिएपछि आकास अत्तालिंदै बाटोछेउका घरहरूमा सोध्दै शिवालयसम्म फर्क्यो, तर कतै केही मेसो पाइएन। सामुदायिक भवनभन्दा केही माथि पुगेर अघि आफुहरू आएको बाटो र हरियाली टोलतर्फ हेर्यो। बाटो छेउका केराघारी र बाँसका बोटहरूले गर्दा परसम्म देख्न सकिएन।

पक्कै छोरी घरतिरै फर्किछ भन्ने लागेर आफु पनि घरतिर फर्किने बिचार गर्यो। अलिकति ओह्रालो झरेर मागुरे खोलाको पुलतरेर पश्चिमतर्फ लाग्यो। बाटोछेउको ओलीदाईको अर्घेली, बाबियो  लोक्ताबाट कागज बनाउने कारखानामा भर्खर बनाइएका नेपाली कागजका ताउहरू बाँसका ढाटमाथि घाममा सुकाउन राखिएका थिए। आकासले त्यहाँ ओलीदाई कि बुहारीको घुम्ती पसलमा पाँचवटा भोला किन्यो। भोला पकेटमा राख्दै उसकि छोरी सोनिकालाई कसैले देख्नुभयो कि भनेर सोध्यो। घुम्तीमा बसेका दुईजना केटाकेटीले सोनिका दुईजना साधुहरूसंग निकैबेर अघि घुम्ती अगाडिबाटै पश्चिमतर्फ लागेको बताए। यो सुनेर आकासको होस हवास उड्यो, मुटुको धढ्कन बढ्यो, उसलाई भनन्न रिंगटा चल्यो, हातखुट्टा लुला भए, आँखा अगाडि अध्याँरो भयो। आकास भुईंमा थचक्क बस्यो। उसले पानी माग्यो, ओलीदाई कि बुहारीले स्टीलको ठुलो गिलासमा पानी दिइन्। आकासले घट्घट् आधा गिलास पानी पियो बाँकी पानीले आफ्नु अनुहार भिजायो। केहि सहज भएपछि आकास उठेर हिड्न खोज्यो, उसका पाइला सरेनन्। जोडले चिच्यायो तर बोली आएन। त्यसैबेला उसकी आमा धनमायाले के भयो आकास? किन चिच्याएको? भनी झक्झक्याइन्। आमाको आवाजले ब्यूझँदा आकास पसिनाले चिटचिट भएको एकदम अत्तालिएको थियो। उसलाई ऐंठन भएको रहेछ। मोवाईलमा घडी हेर्यो रातको बाह्र बजेको थियो। आकासले आमालाई सपनाको सवैकुरा बतायो। आमाले सोनिका आफुसँग भुईंतलाको कोठामा निदाइरहेकि भनिन्। आकास उठेर भुईंतलामा आमाको कोठामा गएर सुतिरहेकि सोनिकालाई मोवाइलको उज्यालोमा हेरेर फर्क्यो। 

धनमाया सुत्न गइन्, आकास पनि फेरि ओछ्यानमा पल्ट्यो। उसलाई छट्पटी भइरह्यो, निदाउन सकेन। निद्रा लागोस् पनि कसरी? छदिन अघिमात्र असार २५ गते उसकी श्रीमती रञ्जना धुलाबारी मोढ तिरको भूपाल नाम गरेको केटासँग पोइल गएकी थिई। दुईतीन दिनको खोजतलाशपछि समाज राखेर आकासले रञ्जनालाई भूपालको घरपरिवारको रोहवरमा जिम्मा लगाएर आएको थियो। तीन दिदीबहिनीको दाज्यू आकास रञ्जना हिंडेपछि एक्लो भएको थियो। अब घरमा बावु धनबीर, आमा धनमाया, कान्छीबहिनी प्राशिका, सानीछोरी सोनिका र आफु आकास मात्र भए। बाहिर देखाउँन नखोज्दा पनि उसको पिडा सवैले प्रष्ट देख्न सकिन्थ्यो। श्रीमती हिंडेको दिनदेखि उ काममा पनि गएको थिएन र कसैसँग खुलेर बोलेको र भेटेको समेत थिएन। छोरीलाई घरबाट विद्यालय पुर्याउँन र विद्यालयबाट ल्याउँन चैं आफैं जान्थ्यो, तर बाटोमा कसैसँग बोल्दैनथ्यो। आकाससँग रञ्जनाले घरबाट भाग्ने बेला सानो कागजको चारपाटे टुक्रामा लेखेर छोडेको तीनवटा वाक्यांशहरू छन्, 'न खोज मलाई, म पोइला गको, नानी रामरी हेर'! उसले नबुझेको कुरा घरपरिवार सवै छोडेर हिंडेकी मान्छेले नानी रामरी हेर भन्नुको मतलव शव्दमा भनिएभन्दा धेरै गहिरो छ। उ जतिबेला पनि यहि कुराको अर्थ खोज्न सोचमग्न रहन्थ्यो। 

तेह्रथुम माइती भएकी रञ्जनासँग आकासको विवाह छवर्ष पहिले उसकी जेठीमाईज्यूको पहलमा भएको थियो। रञ्जना आकासकी जेठीमाईज्यूको आफ्नै भदैनी थिई। उनीहरूको विवाह भएको अर्को बर्ष मंसीर महिनामा सोनिका जन्मेकी थिई। नानी जन्मिएपछिका दिनहरू अझ रमाइलोसँग बित्दैथिए। अभाव, गरीबी दुःख जे जस्तो भए पनि जन्दगी चलेकै थियो। कहिले कहिं रञ्जना आकासबीच ठाकठुक परेपनि छोरीप्रतिको माया ममताले अनि नानीको चुलबुलेपनले दुईजनालाई एकछिन मैं मिल्न वाध्य पार्थ्यो। दुवैलाई लाग्थ्यो, कहिले कहिं त्यसरी हुने ठाकठूकले उनीहरू बीचको मायालाई कमजोर हैन, बरू अझ कसिलो पारेको थियो।

आकास दैनिक ज्यालादारीमा जोरसिमलतिरको एकजना साहूको ट्रयाक्टर चलाउँथ्यो। आमा बावुहरू अधियाँमा खेती गर्नुहुन्थ्यो। दुईवटी बहिनीहरूको विहावारी भएर -आफ्ना घरतिर थिए। कान्छी बहिनी धुलाबारी बजारको एक माद्यमिक विद्यालयमा दशकक्षामा पढ्दै थिई। रञ्जना घरभित्रको काम छोरीलाई पल्लो गाउँमा भएको एक आधारभूत विद्यालयमा बालकक्षामा पढाउन ल्याउने लैजाने गर्दथिई। त्यसरी छोरी विद्यालय ल्याउने लैजाने क्रममा रञ्जनाको त्यहि विद्यालयमा भवननिर्माणको काममा ज्याला मजदूरी गर्ने धुलाबारी मोढतिरको भूपालसँग देखाभेट भयो। दिनैपिछे भेट हुने, बोल्ने, हाँस्नेसँगै उनीहरू एक अर्कामा नजिकिए। उनीहरू बीचको हिमचिमलाई नियालिरहेका शिक्षिकाहरूले रञ्जनालाई सम्झाउनु भयो। विद्यालयछेउका पसले प्रभासले पनि रञ्जनालाई सम्झाइ हेरे। तर उसले कसैको सुनिन। दुईमहिना देखि रञ्जना बिहान छोरीलिएर विद्यालय गएदेखि बेलुका विद्यालय छुट्ने समयसम्म भूपालकै वरपर समय विताउन थालेकी थिई। भूपालको काम नभएको बेला उसको साईकलमा बसेर दुईजना धुलाबारीबजार जान्थे। कहिले विद्यालयबाट पूर्वपट्टिको राईनी दिदीको पसलभित्र सँगै बसेर रक्सी खाजा खाने गर्दथे। पछिपछि भूपाल साईकलमा रञ्जनाको घर छेउछाउ सम्म पनि आउनेजाने गरेको छरछिमेकीले देखेका रहेछन्। यता घरमा पनि पछिल्लोसमय रञ्जनाको झर्कोफर्को बढेको थियो। आकाससँग दिनैपिच्छे पैसा माग्ने त्यसकै निहूँमा झगडा गर्ने हुन थालेको थियो। रञ्जनाको व्यवहारमा आएको यस्तो परिवर्तन दैनिकजसोको झगडा किचलोले घरका सवैलाई कुनदिन के अनिष्ट आइलाग्ने हो भन्ने आशंका हुन थालेको थियो। आकासले फोन गरेर रञ्जनाको माइती तेह्रथुममा उसको सासु धुलाबारीमा माइज्यूलाई रञ्जनाको कारणले समस्या उब्जेको कुरा सुनायो। माइज्यूले साउनलागेपछि एकपटक आउँछु रञ्जनालाई सम्झाउँछु भनिन्। 

असार २५ गते मंगलबार छिमेकमा खेत रोपाईं थियो, आमा रोपाहार गएकी थिईन्। बुवा पनि बाउसे गर्न धानको बीउ उखेल्न उतै खेताला गएका थिए। कान्छीबहिनी साथीकोमा गएकी सोनिका त्यसदिन विद्यालय नगएर घरमा नै थिई। आकास आफ्नो काममा जोरसिमलतिर गएको थियो। दिउसो चारबजे तिर भूपाल आफ्नो साइकलमा यौटा ब्यागसहित आकासहरू बस्ने घर अगाडिको बाटोमा उभिएर एकैछिन रञ्जनासँग के के कुरा गर्दै जंगलतिर लाग्यो। रञ्जना घरभित्र पसी। सोनिका भुईंतलामा आकासकी आमाको ओछ्यानमा निदाइरहेकी थिई। रञ्जनाले छोरीको हातमा फूकिदिई ओछ्यानमा नै भएको यौटा सलले छोरीको जिउ ढाकिदिई। हतारहतार तलामाथि चढेर आफुहरू सुत्ने बरण्डाको कोठाभित्रबाट पहिले नै ठिक पारिराखेको प्लाष्टिकको झोला हातमा लिएर भुईंतलामा झरी। प्राशिकाको कपीबाट डटपेनले घेरा लगाएर चारपाटे आकारमा काटेर कागजको सानो चिर्कटो ठीक पारी। त्यसमा, ' खोज मलाई, पोइला गको, नानी रामरी हेर' भन्ने छोटा तीनवटा वाक्य नेपालीमा त्यसको तल Ranjana Tamang लेखेर कान्छीनन्दको कोठाको भित्तामा सवैले मोवाइल चार्ज गर्ने स्थानमा राखिदिई। एकपल्ट फेरि भित्र कोठामा गएर निदाइरहेकी सोनिकाको अनुहार हेरी। कसैले देखि हाल्छन् कि भनेर बाहिर निस्केर यताउता हेरी। कोही नदेखेपछि प्लाष्टिकको झोला बोकेर घरमुन्तिर बाटोमा निस्केर पश्चिम जंगलतर्फ लम्किई। जंगलको छेउमा खोल्सी पारी साइकल लिएर भूपाल पर्खिरहेको थियो। त्यहाँबाट दुवैजना यौटै साइकलमा चढेर केबीचौर हुँदै जंगलको बाटो मंगली (धाईजन) तर्फ लागे।

बेलुका कामबाट फर्केपछि मोवाईल चार्ज गर्न खोज्दा धनमायाले कागजको टुक्रामा केहि लेखेको देखेपछि धनबीरलाई पढ्न दिईन्, उनले आफु साँझमा अक्षर राम्रोसँग देख्न नसक्ने भन्दै छोरीलाई पढ्न दिए। छोरीले सवैले सुन्नेगरी कागजमा लेखेको पढेर सुनाई। रञ्जना पोइला गएको कुराले घरमा भएका तीनजना नै अक्क बक्क भएर एकअर्काको अनुहार हेराहेर गरे। सानी सोनिकालाई हातमा उठाएर तीनैजनाले पालैपालो बोके। बुहारी गई गई तर छोरा नातिनीलाई समेत एक्लै पारेर गई भन्ने संझदा धनमायाको आँखाबाट आँसु झरे, उनले अर्कोतिर फर्केर हातैले आँखा पुछिन्।आकास अझै घर आइपुगेको थिएन। बिहान काममा जाने बेला आफुलाई बेलुका फर्किन ढिला हुनसक्छ भन्दै हिंडेको थियो।  

त्यो दिन आकासको कामको पैसा पाउने दिन रहेछ। साहूबाट थापेको पाँचदिनको हाजिरा वापत तीनहजार पाँचसय रूपैयामध्ये आज चै नमागे पनि रञ्जनालाई दिन्छु भनेर एकहजारको नोट पाईन्टको पछाडिको देब्रे पकेटमा राख्यो। आमालाई दिन भनेर पाँचसयको नोट पाइन्टको अगाडिको देब्रे पकेटमा हाल्यो। बाँकी दुईहजार रूपैयामध्ये छसयको डेड केजी ब्रोईलर कुखुराको मासु घर लिएर जानका लागि किन्यो। सयको दुई बोतल लोकल कोदोको रक्सी पनि किनेर बोक्यो। रञ्जना प्राशिका दुवैलाई मनपर्ने अकबरे स्वादको पिरो चाउचाउ किन्यो। छोरीको लागि चकलेट विस्कुट किनेर पकेटमा राख्यो। घरकोलागि यतिका धेरै सामानहरू किनेर धुलाबारीबजारबाट घरतर्फ लाग्दै गर्दा आकासले परिवारका सवैको अनुहार एकएक गरेर सम्झ्यो। आफुहरू अलिअलि दुःख, अलिअलि अभाव बीच बाँचिरहेको भएपनि घरपरिवारको माया संझेर आकासले संतोषको सास फेर्यो। अझ सानी छोरीको चुलबुलेपन बालशुलभ लाडप्यार संझँदा झनै पुलकित हुँदै घरतिर लम्क्यो। खै किन हो, आज उसलाई रञ्जनाको माया सँधैभन्दा धेरै लागिरहेको थियो। अहिलेसम्म जेजसो भएपनि अबदेखि रञ्जनाको मन कहिलै नदुखाउने झगडा हुने वातावरण आउन नदिने बाचा मनमनै आफैसँग गर्यो। 

आकास घरपुग्दा घाम अस्ताइसकेको तर अझै केही उज्यालो बाँकी नै थियो। सँधै घर आइपुग्दा झै उसले सोनिकालाई आँगनको पल्लो छेउबाटै बोलायो, सोनिका दौडेर आई। आकासले टाउको मुसारिदिंदै सोनिकाको हातमा चकलेट राखिदियो। छोरी खुशीहुँदै घरभित्र पसी। कान्छीबहिनी ढोकासम्म आएर आकासको हातमा भएका प्लाष्टिकका झोलाहरू भित्र लिएर गई। बावु, आमा, बहिनी छोरी सवैलाई घरभित्रै देखिसकेपछि आकासले रञ्जना खोई भनेर सोध्यो। एकछिन सन्नाटा छायो, कोही केही बोलेन। आकासको मनमा चिसो पस्यो। धनमायाले प्राशिकालाई कागजको टुक्रो आकासलाई दिनुभनेर अह्राईन्। बहिनीले कागज दाज्यूको हातमा राखिदिई। त्यसमा भएको मेसेज पढ्दै गर्दा आकासको अनुहार कालो नीलो भयो। एकछिन अगाडि मनमा उसले सजाएका सपना सोचहरू दिमागबाट एकैपटक अलप भए। आमालाई अँगालो मारेर एकछिन भक्कानियो। आफुलाई समाल्दै बावुआमातिर फर्केर, 'जाओस् त्यस्ता झ्यास' भन्दै सानी छोरीलाई उचालेर छातिमा टाँस्यो। 

मानिसलाई जति नै पीर आपत आइपरे पनि जीवन चलाउँन सामान्य दिनचर्यामा फर्कनै पर्छ। आकास उसको परिवार आज त्यस्तै रूञ्चे हाँसोको समयबाट गुज्रँदै थियो। धनमायाले भात पकाउनु अगाडि नै कुखुराको मासु पकाएर बावु छोरा आफुलाई समेत आकासले ल्याएको लोकल रक्सी मासु पस्किइन्। छोरी नातिनीले मासुमात्र खाए। मिठो मिठो खान हिंडेकी खाई होला नि! भन्दै धनमायाले बुहारीलाई सम्झिइन्। आकास त्यसको कुरा नगर्नु भन्दै ठुस्कियो। बावुआमा बहिनीले आफुहरूले एकदुई महिना अघिदेखि रञ्जना भूपालको बारेमा गाईंगुईं सुनेका कुराहरू सुनाए। पछिल्ला केहि महिनादेखि रञ्जनाको बढ्दो झर्कोफर्को र सानातिना कुरामा निहूँ खोज्ने व्यवहारबाट आफु पनि आजित भएको आकासले सुनायो। आकासले पकेटबाट निकालेर कागजको टुक्रा फेरि पढ्यो, 'नानी रामरी हेर' भन्ने वाक्य दोहर्याई तेहर्याई पढ्यो। छोरीलाई आमाको काखबाट तानेर आफ्नो काखमा राख्यो। छोरीले मेरो आमा खोई? भनेर सोधी। आकासले आँखाका आँसु लुकाउँदै मावल गएकी छ, भोलि आउँछे भनेर छोरीलाई सुम्सुम्यायो। खाजा खाई पिई सकेर बावु, आमा र बहिनीले खाना खाए। आकासले खान मन गरेन, अरूले कर पनि लगाएनन्। आकासले रञ्जनालाई दिने भनेर आफ्नो पाईन्टको पछाडिको देब्रे पकेटमा राखेको हजारको नोट हातले विस्तारै निकालेर आफुसँग भएको अरू नोटहरू सँगै मिसायो। आमाको लागि छुटयाएको पाँचसय पकेटबाट निकालेर धनमायालाई दियो। भोलिपल्ट छरछिमेकमा पनि सल्लाह गरेर रञ्जनालाई खोज्ने र उसको नयाँ परिवारमा जिम्मा लगाउने सल्लाह गरेर सवैजना सुते। आकास निदाउन सकेन। रञ्जनासँग बिताएका छ बर्षका सम्झनाहरू एकपछि अर्को गर्दै मानसपटलमा आइरहे। 

भोलिपल्ट बिहान पल्लाघरका कमलदाईको अटोरिक्शामा आकास आरतीचोक भन्दा तल घर भएका उसकी आमाका फुपूका छोरा धुलाबारी मोढभन्दा तलको वस्तीमा भूपालको घर परिवार खोज्न गए। सोध्दै खोज्दै जाँदा भूपालको घर भेटियो तर त्यहाँ उनीहरूलाई भेटिएन। भूपालका छरछिमेक हजुरआमासँग सवै घटना विवरण सुनाएर समाजको रोहवरमा जिम्मा दिने रञ्जनाप्रति आफुहरूको कुनै दावी विरोध नरहने वताएर त्यो दिन आकास उसका दाई फर्किए। पर्सिपल्ट भूपालका छिमेकीले फोन गरेर भेला हुन बोलाए। रञ्जनाका बावुलाई तेह्थुममा फोन गरेर रञ्जनासँग बोल्न लगाइयो। उसले सवैले सुन्ने गरी आफु राजिखुशीले हिंडेको बताई। त्यहाँको वार्डको स्थानिय न्यायिक समितिका सदस्यहरू समेतको उपस्थितिमा त्यसदिन देखि रञ्जना आकासको सम्वन्ध टुंगिएर रञ्जना भूपालको सम्वन्धको शुरूवात भयो। समाज बसिरहेको बेला रञ्जनाले कमलदाईलाई सोनिकालाई कस्तो ? कतिको न्यास्रिएकी ? पढ्न जाँदै कि छैन? नानी पुर्याउन लिन को जान्छ? भनेर सोधिखोजी गरी। कमलले पनि सवै प्रश्नको जवाफ दिएर, 'तिमीलाई चैं नानीको याद आउँछ कि आउँदैन? नानीको याद आउने माया लाग्नेले किन नानी छोडेर भागेकी ?' भनेर सोध्यो। नानीको कुरा भएपछि रञ्जना आँसु झार्दै उसको नयाँ लोग्नेको घरभित्र पसी।त्यहाँको काम सकाएर अटोरिक्शामा घर फर्किंदा बाटोमा कमलले रञ्जनासँग नानीको बारेमा भएको कुराकानी आकासलाई सुनायो। आकासले पनि रञ्जनाको त्यहि कुरा चैं आफुले बुझ्न नसकेको बतायो।

आज किन किन आकासलाई नजिकको कोही आफन्तको अन्तीम संस्कारपछि घाटबाट फर्कँदै गरेको जस्तो भान भइरहेको थियो। सवै शुन्य शुन्य लागिरहेको थियो र त्यहि शुन्यताभित्रबाट 'न खोज मलाई, म पोइला गको, नानी रामरी हेर' वाक्यहरू आकासको मन र मस्तिष्कमा गुञ्जीरहेको थियो। उसलाई कतिबेला घरपुगेर सोनिकालाई छातिमा टाँसेर माया गरौं जस्तो भइरहेको थियो।

(यसकथाका घटना र पात्रहरू सवै काल्पनिक र कृत्रिम हुन्। कतै कसैको वास्तविक जीवनमा मेलखाएमा केवल संयोगमात्र हुनेछ।)

Post a Comment

0 Comments